सिमराका डीएसपी क्षेत्रीको जिम्मेवारी खोसियो

२०८३ भाद्र ५, शुक्रबार ०७:१४

सर्लाही – इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीको जिम्मेवारी खोसिएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउँदै सिमरामा डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले डीएसपीको काज सरुवा गर्ने निर्णय गरेका हुन् । भट्ट यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।

सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले प्रभावकारी रूपमा खोजतलास नगरेको भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए । साउन ३१ गतेदेखि हराएकी गरिमा भदौ २ गते जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित एक खाली घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।

बालिका हराएलगत्तै परिवारले प्रहरीलाई जानकारी गराए पनि खोजतलास र अनुसन्धानमा प्रहरीले बेवास्ता गरेको स्थानीयको आरोप थियो । घटनालाई लिएर स्थानीयस्तरमा आन्दोलनसमेत भएको थियो । प्रतिनिधिसभाका सदस्यहरूले समेत घटनामा डीएसपी क्षेत्रीको भूमिकामाथि प्रश्न उठाएका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले बलात्कार तथा हत्यामा संलग्न रहेको आरोपमा जितपुर सिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सुमन ना.१ ज ७७५८ नम्बरको म्याजिकमा सहचालकका रूपमा काम गर्दै आएका थिए । प्रारम्भिक अनुसन्धानमा उनले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र त्यहाँ बलात्कारपछि हत्या गरेको खुलेको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले बताएका छन् ।

पक्राउ परेका प्रोग्रेस सोही म्याजिकका धनी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार