सर्लाहीमा अपराध नियन्त्रणमा प्रहरीको सक्रियता, साउनमा १ सय १ मुद्दा दर्ता

२०८३ भाद्र ५, शुक्रबार ०७:३५

मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनमा अपराध नियन्त्रण तथा अनुसन्धानदेखि नागरिक सेवासम्म गरेका गतिविधिको विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार साउन महिनामा जिल्लामा विभिन्न प्रकृतिका १०१ वटा मुद्दा दर्ता भएका छन्।

दर्ता भएका मुद्दामध्ये संगठित तथा आर्थिक अपराधका २९, सामाजिक अपराधका २६, अन्य प्रकृतिका २५, चोरीका ८, सवारी ज्यानका ४, महिला तथा बालबालिकासम्बन्धी ४, ज्यानसम्बन्धी ३ र आत्महत्याका २ वटा रहेका छन्। गम्भीर अपराधतर्फ कर्तव्य ज्यानको एक, ठगीका चार र बैंकिङ कसुरका नौ गरी १४ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रणतर्फ प्रहरीले साउनमा ८९१ किलो २२ ग्राम गाँजा, १ हजार ४४२ ट्याब्लेट तथा ६६ बोतल अन्य औषधिजन्य लागुऔषध बरामद गरेको छ। यस क्रममा २० जना पक्राउ परेका छन्।

त्यस्तै, भन्सार छली गरी ल्याइएका २८ लाख ४१ हजार ६९० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ भने दुईवटा पिकअप र एउटा टेम्पोसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अवैध मदिरा नियन्त्रण अभियानमा ४२५ लिटर मदिरा बरामद भएको छ। प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा १४ वटा ट्रयाक्टर नियन्त्रणमा लिएर ९३ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।

मुद्दा अनुसन्धान तथा फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले सक्रियता देखाएको जनाएको छ। साउनमा चालु मुद्दाका ९४ जना प्रतिवादी पक्राउ परेका छन् भने अदालतको फैसला कार्यान्वयनका क्रममा थप ५३ जना पक्राउ परेका छन्। फैसला कार्यान्वयनबाट ४० वर्ष २ महिना २४ दिन कैद तथा ११ लाख २४ हजार २८० रुपैयाँ जरिवाना असुल भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ९९ वटा उजुरी साउनमा प्रहरीमा परेका छन्। तीमध्ये घरेलु हिंसाका १७ वटा उजुरी रहेका थिए। प्रहरीले ९ वटा उजुरी मिलापत्रमार्फत टुंग्याएको जनाएको छ। यसैगरी, ४२ जना हराएको भन्दै उजुरी परेकोमा २६ जनालाई प्रहरीले फेला पारेको छ।

साउनमा जिल्लाभर ८७ वटा सवारी दुर्घटना भएका छन्। प्रहरीका अनुसार तीमध्ये ४८ वटा दुर्घटना चालकको गल्तीका कारण भएका थिए। आगलागी, करेन्ट लाग्ने तथा पानीमा डुब्नेलगायतका २७ वटा विपद्का घटना पनि भएका छन्। ती घटनामा ६ जनाको मृत्यु, १६ जना घाइते र २० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। विपद्का घटनाबाट करिब ११ लाख ३१ हजार ९०० रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ।

समुदाय प्रहरी साझेदारीअन्तर्गत साउनमा समुदाय केन्द्रित १३७ वटा र विद्यालय केन्द्रित चारवटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा लागुऔषध, साइबर अपराध, सडक सुरक्षा, अपराध नियन्त्रण तथा सामाजिक विकृतिविरुद्ध नागरिक र विद्यार्थीलाई सचेत गराइएको प्रहरीले जनाएको छ। नागरिक सहायता कक्षमार्फत साउनमा १० हजार ११८ जना सेवाग्राहीले सेवा लिएका छन् भने हटलाइन तथा प्रहरी कन्ट्रोलमा ३ हजार ८४८ वटा फोन कल प्राप्त भएकोमा आवश्यक सम्बोधन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जिल्लाको शान्ति सुरक्षा थप मजबुत बनाउन चेकिङ, गस्ती र सूक्ष्म निगरानीलाई तीव्रता दिइएको बताए। उनका अनुसार अपराध नियन्त्रणसँगै नागरिकमैत्री प्रहरी सेवा, समुदायसँगको सहकार्य र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर प्रहरी गतिविधि सञ्चालन भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार