मलंगवा – सर्लाहीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
हरिपुर्वा नगरपालिका – ३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा भएको दुर्घटनामा हरिपुर्वा–३ का ४० वर्षीय कारी पमरियाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए।

दुर्घटनामा घाइते भएका पमरियाको उपचारका क्रममा मृत्यु भएको हो। त्यस्तै, प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ सुक्नाहका ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन्। उनको जनकपुरस्थित गोल्डेन अस्पताल, धनुषामा उपचार भइरहेको छ।
दुर्घटनापछि ज ११ प १२१३ नम्बरको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका–३ का २६ वर्षीय अदुत शेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै मोटरसाइकललाई प्रहरी चौकी पर्साको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





