जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

२०८३ भाद्र ५, शुक्रबार ११:०७

जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका – ७ दानेपिपलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत दानेपिपलमा बुधबार साँझ जिप दुर्घटना भएको हो ।

दुर्घटनामा नलगाड नगरपालिका – १० का २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन् ।

प्रहरीका अनुसार भदौ ४ गते साँझ करिब ६ः३० बजे नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनापछि जिप चालक नलगाड नगरपालिका–८ हलचौरका २४ वर्षीय विनोद विक भनिने विनबहादुर विक फरार भएका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई सोही राति नियन्त्रणमा लिएको जनाएको छ ।

दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार