गोडैता – सर्लाहीको मलंगवामा ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । शुक्रबार बिहान करिब १० बजे मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकअगाडि दुर्घटना भएको हो ।
नगरपालिकाचोकबाट राजश्रीचोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ पैदल हिँडिरहेकी गोडैता नगरपालिका–५ बस्ने २३ वर्षीया गुरीया कुमारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी गुरीयालाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याएको थियो । तर, अस्पतालमा बिहान १०ः२२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक गोडैता नगरपालिका–११ बस्ने श्री साहका १७ वर्षीय छोरा अजय साह रहेको प्रहरीले जनाएको छ ।
चालकसँग आवश्यक कागजातसमेत नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।





