सर्लाही – सिराहाको औरही गाउँपालिका – ५ स्थित गागन खोलाबाट सशस्त्र प्रहरीले करिब ४ किलो शङ्कास्पद काँचो मासुसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा औरही गाउँपालिका–५ मुस्लिम टोलका २५ वर्षीय मोहतर अली र २९ वर्षीय मोहमद अफरोज खान रहेका छन्। मधेस प्रदेश ०१–००४ प ९५०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई गागन खोलामा चेकजाँच गर्ने क्रममा प्रहरीले रोकेको थियो।

सो क्रममा मोटरसाइकलमा शङ्कास्पद काँचो मासु फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद मासु हेर्दा गाईको मासुजस्तो देखिएको छ।
प्रारम्भिक रूपमा उक्त मासु भारतबाट ल्याइएको हुनसक्ने आशंका गरिएको भए पनि मासु कुन जनावरको हो भन्ने विषयमा परीक्षणपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।





