सर्लाही – नेपाल–भारतबीच खुला सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा जलेश्वरमा उच्चस्तरीय छलफल भएको छ।
सर्लाही, महोत्तरी र रौतहट जिल्ला तथा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाका सम्बन्धित अधिकारीहरूको सहभागितामा नेपाल–भारत जिल्ला सीमा समन्वय समितिको उच्चस्तरीय बैठक शनिबार महोत्तरीको जलेश्वरमा सम्पन्न भएको हो।

जलेश्वर नगरपालिकाको सभाहलमा सम्पन्न बैठकमा खुला सीमाका कारण उत्पन्न हुन सक्ने सुरक्षा चुनौती, सीमापार अपराध, अवैध गतिविधि नियन्त्रण, सीमा व्यवस्थापन तथा सुशासनका विषयमा छलफल गरिएको थियो।
बैठकमा सीमा क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउन नेपाल र भारतका सुरक्षा तथा प्रशासनिक निकायबीच आपसी समन्वय र सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो। सीमापार हुने आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै पक्षले आवश्यक सहयोग र समन्वय गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
त्यस्तै, सीमा क्षेत्रमा नागरिकको सहज आवागमनलाई व्यवस्थित गर्दै अवैध गतिविधि नियन्त्रण गर्ने, सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सुरक्षा चुनौती देखिएमा सम्बन्धित निकायबीच तत्काल समन्वय गर्ने विषयलाई प्राथमिकता दिइएको थियो।
बैठकमा विपद्का समयमा सीमावर्ती क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि दुवै देशका सम्बन्धित निकायबीच सहकार्य बढाउने विषयमा पनि छलफल भएको छ। सीमावर्ती क्षेत्रमा प्राकृतिक विपद् वा अन्य आकस्मिक अवस्था उत्पन्न हुँदा प्रभावकारी समन्वयमार्फत क्षति न्यूनीकरण गर्ने विषयमा सहभागीहरूले जोड दिएका थिए।
शनिबार सम्पन्न बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र आगामी दिनमा सीमा सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सीमा व्यवस्थापन तथा विपद् व्यवस्थापनका क्षेत्रमा नेपाल र भारतबीचको समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।





