सर्लाही – पर्सामा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ। विन्दवासिनी गाउँपालिका–२ स्थित ढोङ्गही खोलामा भैँसी चराउन गएका बहुदरमाई नगरपालिका–१ का करिब ६० वर्षीय ब्रह्मदेव राउत अहिरको डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार खोलामा बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्राप्त भएपछि सुरक्षाकर्मीको टोली खोजीमा परिचालन गरिएको थियो। सुरक्षा बेश पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मीको नेतृत्वमा विपद् व्यवस्थापन टोली र इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा प्रहरी टोली खोजीमा खटिएको थियो।

खोजीका क्रममा सशस्त्र प्रहरीको टोलीले ब्रह्मदेवलाई खोलामा डुबेको अवस्थामा मृत फेला पारेको हो। फेला परेको शवको आवश्यक मुचुल्का तयार गरी परीक्षणका लागि नारायणी अस्पताल पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साका प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।





