रास्वपा सांसद सिंहको दाबी : सरकारप्रतिको जनविश्वास घट्दै जाँदा समाजमा अराजकता बढ्यो

२०८३ भाद्र ८, सोमबार १५:२३
file image

सर्लाही – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारप्रतिको जनविश्वास र प्रभाव कमजोर बन्दै गएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले पछिल्लो समय समाजमा अराजकता, हिंसा र अस्थिरताका घटना बढ्दै गएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।

उनले बारा र सप्तरीमा भएका पछिल्ला घटनालाई मात्र आधार बनाएर अवस्था बुझ्न नहुने बताए । सरकार गठन भएयता कप्तानगञ्जको घटना, धार्मिक तथा सामाजिक सद्भावमा देखिएको तनाव, मिटरब्याजपीडित, लघुवित्तपीडित र चिकित्सकसम्बन्धी आन्दोलनलगायतका घटनाले गम्भीर अवस्था देखाएको उनको भनाइ थियो ।

सिंहले यस्ता घटनाले सरकारप्रतिको जनताको विश्वास क्रमशः कमजोर भइरहेको संकेत गर्ने दाबी गरे । उनका अनुसार समाजमा अराजकता, हत्या, हिंसा, बलात्कार तथा विभिन्न आन्दोलनका घटना बढ्दा त्यसको प्रत्यक्ष असर आम नागरिकमाथि परिरहेको छ ।

‘जब समाजमा बेथिति बढ्छ र राज्यप्रतिको विश्वास कमजोर हुन्छ, त्यहाँ अपराध पनि बढ्दै जान्छ,’ सिंहले भने, ‘यस विषयमा गम्भीर रूपमा छलफल र समीक्षा आवश्यक छ।’

उनले सरकारको प्रभावकारिता र जनविश्वास कायम राख्न पछिल्ला घटनाहरूको गम्भीर समीक्षा गर्दै समस्या समाधानतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार