सर्लाहीका सडकमा अब लापरबाही नचल्ने, मर्मतदेखि निर्माणसम्ममा कडाइ गर्ने निर्णय

२०८३ भाद्र ८, सोमबार १९:५२

मलंगवा – जिल्लाका सडक पूर्वाधारलाई सुरक्षित, दिगो र गुणस्तरीय बनाउन सरोकारवाला निकायबीच समन्वय गरी सडक सुधार तथा निर्माण कार्यलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सडक आयोजनासँग सम्बन्धित कार्यालयका योजना प्रमुख तथा कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थितिमा आज बसेको बैठकले सडक पूर्वाधारसँग सम्बन्धित विभिन्न समस्या समाधानका विषयमा छलफल गरेको हो।

बैठकमा जिल्लाका पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग तथा उत्तर–दक्षिण जोड्ने विभिन्न सहायक र ग्रामीण सडकमा रहेका खाल्टाखुल्टी, गुणस्तरहीन निर्माण कार्य र समयमै मर्मतसम्भार नहुँदा सर्वसाधारणले आवागमनमा समस्या भोग्नुपरेको विषय उठाइएको थियो।

त्यस्तै, नदीजन्य पदार्थको जथाभावी उत्खनन तथा ओसारपसारका कारण सडकको आयु घट्दै गएको र यसले सडक दुर्घटनाको जोखिमसमेत बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक पहल गर्ने विषयमा पनि छलफल भएको छ।

बैठकले निर्माणाधीन सडक तथा पूर्वाधार आयोजनालाई तोकिएको समयसीमाभित्रै सम्पन्न गराउन सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय गरेको छ। सडक निर्माणमा गुणस्तर कायम गर्न तथा निर्माण सम्पन्न भएका सडकको नियमित मर्मतसम्भारलाई प्राथमिकता दिने विषयमा समेत जोड दिइएको छ।

सडक डिभिजन कार्यालय, पूर्वाधार कार्यालय, पर्यटन विकास कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा निर्माण व्यवसायीबीच प्रभावकारी समन्वय कायम गरी सडक निर्माण र मर्मतका क्रममा देखिएका समस्या तत्काल समाधान गर्ने निष्कर्ष बैठकले निकालेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार