जेनजी आन्दोलनको क्षति मर्मतमा सर्लाहीसहित मधेसका तीन जिल्लामा ७२ लाखभन्दा बढी खर्च

२०८३ भाद्र ८, सोमबार २०:१२

सर्लाही – नजी आन्दोलनका क्रममा धनुषा, महोत्तरी र सर्लाहीका सरकारी कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणमा ७२ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरका अनुसार आन्दोलनबाट क्षति भएका संघीय सरकारअन्तर्गतका विभिन्न कार्यालयको मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि ७२ लाख ४९ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको हो।

मर्मत तथा पुनर्निर्माण गरिएका संरचनामा जिल्ला अदालत धनुषा, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास, जिल्ला अदालत सर्लाही, जिल्ला सहकारी वकिल कार्यालय सर्लाही, महेन्द्र नारायण मिथिला सांस्कृतिक केन्द्र जनकपुर, जिल्ला कारागार सर्लाही तथा राइजोवियम तथा घाँसेबाली बीउबिजन प्रयोगशाला रहेका छन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले विभिन्न सरकारी कार्यालयलाई निशाना बनाउँदै तोडफोड र आगजनी गरेका थिए। त्यसबाट कार्यालयका भवन, कोठा तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो।

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयका सूचना अधिकारी सुधीर शाहका अनुसार मन्त्रालयबाट विनियोजन भएको बजेटमार्फत क्षतिग्रस्त कार्यालयको मर्मतसम्भार तथा पुनर्निर्माणको काम सम्पन्न गरिएको हो।

उनका अनुसार आन्दोलनपछि कतिपय कार्यालयका कोठा प्रयोग गर्नै नसकिने अवस्थामा पुगेका थिए। भवन तथा संरचनामा भएको क्षतिका कारण नियमित सेवा प्रवाहसमेत प्रभावित भएको थियो।

यता, आर्थिक वर्ष २०८२/०८३ मा जेनजी आन्दोलनसँगै ठेकेदारहरू विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका कारण विकास निर्माणका कामसमेत प्रभावित भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा भवन निर्माणतर्फ सर्लाहीमा सातवटा विद्यालय निर्माण भएका छन्। धनुषा, महोत्तरी र सर्लाहीमा गरी तीनवटा सामुदायिक भवन, महोत्तरीमा स्वास्थ्य भवन तथा सर्लाहीमा दुई र महोत्तरीमा एक गरी तीनवटा इमर्जेन्सी सेल्टर निर्माण गरिएको छ।

त्यस्तै, कार्यालयले गत वर्ष १५ दशमलव ६६ किलोमिटर सडक कालोपत्रे, ३ दशमलव १८ किलोमिटर सडक ढलान र ६ दशमलव ७६ किलोमिटर नाला निर्माण गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार