मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक हवल्दार राजेश कुमार यादव २०८३ साउन महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित भएका छन्।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ अनुसार यादवलाई साउन महिनाको। ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ घोषणा गरेका हुन्।

साउन महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा यादवलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ। प्रदेश प्रहरी प्रमुख अधिकारीले जनकपुरमा आयोजित कार्यक्रममा यादवलाई प्रशंसापत्रसहित पुरस्कार प्रदान गरेका छन्।
सम्मान प्रदान गर्दै अधिकारीले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी र सेवामा समर्पित बनाउन उत्कृष्ट प्रहरी छनोट कार्यक्रमले प्रोत्साहन पुग्ने बताए। सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित यादवलाई मधेश प्रदेश प्रहरी कार्यालयले बधाई तथा शुभकामना व्यक्त गरेको छ।





