सर्लाही – सरकारले बन्द अवस्थामा रहेको वीरगन्जस्थित चिनी मिल पुनःसञ्चालन गर्न सकिने वा नसकिनेबारे अध्ययन थालेको छ। यसैक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले मिलको स्थलगत निरीक्षण गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वमा रहेको कार्यदलले पिपरास्थित चिनी मिल परिसरमा पुगेर कारखानाको अवस्थाबारे अध्ययन गरेको हो।

स्थलगत निरीक्षणका क्रममा कार्यदलले कारखानाका भवन तथा अन्य भौतिक संरचना, मेसिनरी, पार्टपुर्जा लगायतका सामग्रीको वर्तमान अवस्था अवलोकन गरेको थियो। साथै, ती संरचना तथा उपकरणलाई पुनः प्रयोगमा ल्याउन सकिने सम्भावनाबारे समेत अध्ययन गरिएको कार्यदलका संयोजक यादवले जानकारी दिए।
सरकारले चिनी मिललाई पुनः सञ्चालनमा ल्याउने सम्भावनाबारे अध्ययन गर्न यही भदौ १ गते यादवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा आपूर्ति मन्त्रालयकी शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य छन्।
कार्यदललाई १५ दिनभित्र मिलको वर्तमान अवस्था, आवश्यक मर्मत तथा पुनःसञ्चालनका सम्भावनालगायत विषयमा अध्ययन गरी सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
स्थलगत अध्ययनपछि तयार हुने प्रतिवेदनका आधारमा वीरगन्ज चिनी मिललाई पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया र कार्ययोजना अघि बढाउने सरकारको तयारी छ।





