महोत्तरीमा ३१ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

२०८३ भाद्र ९, मंगलवार १६:२४

सर्लाही – महोत्तरीको सोनमा गाउँपालिकाबाट प्रहरीले २१ किलो १० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको बौधीमाई नगरपालिका–२ इनर्वा टोलका ४३ वर्षीय गर्भु प्रसाद पटेल र महोत्तरीको सोनमा गाउँपालिका – ६ मगरथानाकी ३६ वर्षीया उषा कुमारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले सोमबार राति सोनमा गाउँपालिका – १ बाट प्रदेश २–०२–००५ प ३२९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट गाँजाजस्तो देखिने पदार्थ २१ किलो १० ग्राम बरामद गरेको जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा प्रहरीले उषा कुमारीको गौशाला नगरपालिका–४ स्थित पानी ट्याङ्की नजिक रहेको डेरा कोठामा समेत खानतलासी गरेको थियो। सो क्रममा थप १० किलो ३७५ ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

यससँगै पक्राउ परेकाहरूबाट बरामद गाँजाजस्तो देखिने पदार्थको कुल परिमाण ३१ किलो ४८५ ग्राम पुगेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार