सर्लाही – विशेष अदालतले प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई घुस रिसवत लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
कास्कीमा कार्यरत थापा लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत उनले लागुऔषध मुद्दामा सहजीकरण गरिदिने तथा पक्राउ नगरी घटना मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ मागेको आरोप लागेको थियो।

घुस रकम मागेको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित पक्राउ गरेको थियो। त्यसपछि अख्तियारले गत जेठ १३ गते थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
सोही मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले थापालाई घुस रिसवतसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो। अदालतले उनलाई दोषी ठहर गरे पनि सजाय भने निर्धारण गर्न बाँकी रहेको छ।





