भन्सार छलीका १० लाखको कपडासहित एक जना पक्राउ

२०८३ भाद्र ९, मंगलवार १८:११

सर्लाही – पर्सामा प्रहरीले भन्सार छली चोरीपैठारी गरी नेपाल भित्र्याइएको करिब १० लाख रुपैयाँ मूल्य बराबरको कपडासहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१७ का २५ वर्षीय दीपेन्द्र साहलाई जिराभवानी गाउँपालिका–१ बलुवाबाट कपडासहित पक्राउ गरिएको हो। भारतबाट भन्सार प्रक्रिया पूरा नगरी मोटरसाइकलमा कपडा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार प्रहरी चौकी महादेपट्टी र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा चौकीबाट खटिएको संयुक्त टोलीले साहलाई रोकेको थियो।

उनको साथबाट बीआर २२ बी ०६००१७ नम्बरको मोटरसाइकल र १२ बोरा कपडा बरामद गरिएको छ। बरामद कपडाको अनुमानित मूल्य करिब १० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका साह र बरामद सामानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार