सर्लाहीमा दलित युवक कुटपिटको आरोपमा ‘भाइरल भिडियो’बारे प्रहरीको छानबिन सुरु

२०८३ भाद्र १०, बुधबार १०:०४

मलंगवा – सर्लाहीको कविलासी नगरपालिका – ४ मा दलित समुदायका एक युवकलाई केही व्यक्तिले अमानवीय व्यवहार गर्दै कुटपिट गरेको भनिएको सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले छानबिन समिति गठन गरेको छ।

जिल्ला प्रहरी कार्यालय मलंगवाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा प्रसारित भिडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घटनाको वास्तविकता पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा प्रसारित भिडियोमा दलित समुदायका एक युवकलाई केही व्यक्तिले अमानवीय व्यवहार एवं कुटपिट गरेको दाबी गरिएको छ। उक्त सामग्रीको सत्यतथ्य पत्ता लगाउन छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ।

छानबिन समितिले घटनासम्बन्धी तथ्य तथा प्रमाण संकलन गरी प्रतिवेदन तयार गर्नेछ। प्राप्त प्रतिवेदनका आधारमा प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार