मलंगवा – किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवामा पहुँच बढाउने उद्देश्यले सर्लाहीका चारवटा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार २ सय २३ जना किशोरकिशोरी लाभान्वित भएका छन्।
‘आभा’ परियोजनाअन्तर्गत सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट धनकौल गाउँपालिकामा सोमबार २४० जना र बसबरिया गाउँपालिकामा मंगलबार २३४ जना किशोरकिशोरीले निःशुल्क स्वास्थ्य सेवा तथा परामर्श लिएका थिए।

त्यस्तै, चक्रघट्टा गाउँपालिकामा बुधबार सम्पन्न शिविरबाट ४ सय ४ जना र कोडैना गाउँपालिकास्थित श्री जनता माध्यमिक विद्यालयमा बुधबार नै सञ्चालन गरिएको शिविरबाट ३ सय ४५ जना किशोरकिशोरी लाभान्वित भएका छन्।
यसरी धनकौल, बसबरिया, चक्रघट्टा र कोडैना गाउँपालिकामा सञ्चालन भएका चारवटा स्वास्थ्य शिविरबाट कुल १ हजार २ सय २३ जना किशोरकिशोरीले निःशुल्क स्वास्थ्य सेवा तथा परामर्श पाएका हुन्। शिविरमा किशोरकिशोरीको स्वास्थ्य परीक्षणसँगै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र आवश्यक स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको थियो।
प्लान इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र ( आरआरपिके ) मलंगवाको संयुक्त साझेदारीमा सर्लाहीका कोडैना, चक्रघट्टा, बसबरिया र धनकौल गाउँपालिकामा ‘किशोरकिशोरीको अधिकार र उत्थानशीलताका लागि आभा परियोजना’ सञ्चालन भइरहेको छ।
परियोजनाअन्तर्गत १० देखि २४ वर्ष उमेर समूहका गरीब, दलित, अति विपन्न, मुस्लिम तथा सीमान्तकृत समुदायका किशोरकिशोरीलाई लक्षित गरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको रास्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका कार्यक्रम संयोजक जयनेन्द्र कुमार साहले जानकारी दिनुभयो।
चारवटै स्थानीय तहमा सम्पन्न शिविरबाट ठूलो संख्यामा किशोरकिशोरीले स्वास्थ्य सेवा पाएपछि आयोजकले यस्ता कार्यक्रमले किशोरकिशोरीलाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउन र आवश्यक स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने जनाएको छ।





