रसुवा बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, सयौँ अझै बेपत्ता

२०८३ भाद्र ११, बिहीबार ०५:४१

सर्लाही – रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीले बुधबार रातिसम्म विभिन्न जिल्लाबाट १५७ जनाको शव फेला परेको जनाएको छ।

प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको हो।

बाढी तथा त्यसबाट भएको क्षतिका कारण अझै ठूलो संख्यामा मानिस बेपत्ता रहेको प्रहरीले जनाएको छ। तर, बेपत्ताको यकिन संख्या भने अझै खुल्न सकेको छैन।

प्रहरीका अनुसार नेपाली सेनाका क्याप्टेनसहित ४४ जना, सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित १३ जना र नेपाल प्रहरीका २८ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य भइरहेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार