घरबाट निस्किएका थिङ ३ दिनपछि नहरको डिलमा मृत फेला

२०८३ भाद्र ११, बिहीबार १८:०६
file image

मलंगवा – सर्लाहीको हरिवन नगरपालिका – ६ स्थित चार्ली सामुदायिक वन नजिक नहरको डिलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक हरिवन नगरपालिका – ७ निवासी अन्दाजी ४९/५० वर्षीय प्रेमबहादुर थिङ रहेको प्रहरीले जनाएको छ।

थिङ यही भदौ ८ गते बिहान करिब ६ बजे घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए। त्यसपछि उनी घर नफर्किए पनि अत्यधिक मदिरा सेवन गर्ने भएकाले घर फर्किने अनुमानमा परिवारले तत्काल खोजतलास नगरेको बताइएको छ।

भदौ ११ गते दिउँसो करिब १ बजे स्थानीय बासिन्दा निगुरो टिप्न जाने क्रममा चार्लीबाट मूर्तिया जाने नहरको डिलमा थिङलाई घोप्टो परेको अवस्थामा मृत फेला पारेका थिए। स्थानीयले घटनाबारे मृतकका दाइ रामबहादुर थिङलाई जानकारी गराएपछि दिउँसो करिब १ः३० बजे इलाका प्रहरी कार्यालय मूर्तियामा खबर गरिएको थियो।

सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक कृष्ण आचार्यको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राख्न अस्थायी प्रहरी पोस्ट घुर्कौलीबाट प्रहरी नायब निरीक्षक रामदिनेश साहको कमाण्डमा थप प्रहरी परिचालन गरिएको थियो।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक सुरेन्द्रविक्रम बर्तौलाको कमाण्डमा सोकोसहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार