मिथिलामा आज राखी पर्व मनाइँदै

२०८३ भाद्र १२, शुक्रबार ०६:४८

सर्लाही – मधेसको सर्लाहीसहित मिथिला क्षेत्रमा आज दिदीबहिनी र दाजुभाइबीचको प्रेम, आत्मीयता र आपसी सद्भावको प्रतीकका रूपमा राखी पर्व मनाइँदैछ। साउन पूर्णिमाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, समृद्धि र सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (राखी) बाँधिदिने परम्परा छ।

राखी पर्वलाई लक्षित गर्दै केही दिनअघिदेखि नै मिथिलाका बजारमा चहलपहल बढेको थियो। बजारमा विभिन्न रङ र डिजाइनका राखी सजाएर बिक्रीका लागि राखिएका छन्। दाजुभाइका लागि राखी किन्न दिदीबहिनी तथा किशोरीहरू बजारमा व्यस्त देखिएका छन्। राखीसँगै दाजुभाइलाई खुवाउने मिठाई तथा विभिन्न मिष्टान्न परिकारको तयारीसमेत गरिएको छ।

राखी बाँध्ने दिदीबहिनीको निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइसमेत घर फर्किएका छन्। विवाह भएका दिदीबहिनीले आफ्नो सुविधा र अवस्थाअनुसार आफ्नै घर वा माइतीमा राखी पर्व मनाउने गर्छन्। अविवाहित चेलीहरू भने दाजुभाइकै घरमा पर्वको तयारीमा जुट्ने गरेका छन्। बालबालिकादेखि किशोरी र नवयौवनासम्मका चेलीहरू राखी पर्वको तयारीमा उत्साहित देखिएका छन्।

राखी पर्वका अवसरमा दिदीबहिनीले दाजुभाइको नाडीमा रक्षासूत्र बाँधेर मिठाई तथा मिष्ठान्न खुवाउने गर्छन्। त्यसपछि दाजुभाइले दिदीबहिनीलाई वस्त्र, आभूषण तथा नगद दक्षिणा दिने परम्परा छ।

मिथिला क्षेत्रमा राखी हिन्दू मैथिल परम्पराको महत्वपूर्ण पर्वका रूपमा स्थापित भए पनि पछिल्लो समय यो पर्व सबै भाषाभाषी र विभिन्न समुदायमा समेत लोकप्रिय बन्दै गएको छ। यसले पारिवारिक सम्बन्धसँगै सामाजिक सद्भाव र आपसी आत्मीयतालाई समेत बलियो बनाउने विश्वास गरिन्छ।

रक्षाबन्धनका अवसरमा गुरुपुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा शिष्य तथा यजमानको हातमा बाँधिदिने परम्परासमेत मिथिला क्षेत्रमा छ। यद्यपि पर्वको मुख्य आकर्षण भने दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा बाँधिदिने रंगीचंगी राखी नै हुने गरेको छ।

राखी पर्वसँग विभिन्न धार्मिक तथा पौराणिक प्रसङ्ग जोडिएका छन्। जनविश्वासअनुसार सत्ययुगमा तीनै लोकका अधिपति मानिएका दानवराज बलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानुअघि शास्त्रोक्त विधिबाट अभिमन्त्रित रक्षासूत्र बाँधिदिएका थिए। त्यस्तै, बलिका बहिनीहरू गङ्गा र यमुनाले समेत युद्धमा जानुअघि विजयको कामना गर्दै उनलाई रक्षाबन्धन बाँधिदिएको र बलि विजयी भएको प्रसङ्गसँग यो परम्परा जोडिएको मानिन्छ।

यिनै धार्मिक तथा सांस्कृतिक विश्वासका आधारमा प्रत्येक वर्ष साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि, दीर्घायु र सफलताको कामना गर्दै राखी बाँध्ने परम्परा मिथिला क्षेत्रमा पुस्तौँदेखि चल्दै आएको छ। आजको दिन मिथिलाका गाउँदेखि सहरसम्म दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र आत्मीयताको उत्सवका रूपमा राखी पर्व मनाइँदैछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार