मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

२०८३ भाद्र १३, शनिबार ०७:४२

सर्लाही – मधेशको मिथिला क्षेत्रमा धार्मिक आस्था र लोकसंस्कृतिसँग जोडिएको १३ दिने झुलनोत्सव सम्पन्न भएको छ। साउन शुक्ल तृतीयाबाट सुरु भएको झुला पर्व साउन पूर्णिमाको मध्यरातपछि झुलाको डोरी छिनाएर विधिवत् समापन गरिएको हो।

मिथिलाका विभिन्न मठमन्दिरमा साउन शुक्लपक्षका पछिल्ला १३ दिनसम्म मनाइने यस पर्वमा भगवान् विष्णु लक्ष्मी तथा रामसीता र राधा कृष्णका प्रतिमालाई कलात्मक झुलामा राखेर झुलाउने गरिन्छ। श्रद्धालुहरू झुलाको डोरी समाउँदै परम्परागत झुला गीत गाउँदै देवदेवीका प्रतिमालाई झुलाउने गर्छन्।

महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार साउन पूर्णिमाको मध्यरातपछि झुलाको डोरी छिनाएर पर्व सम्पन्न गरिएको हो। उनका अनुसार वैष्णव परम्पराका मठमन्दिरमा पुस्तौँदेखि चलिआएको यो मिथिलाको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हो।

झुलनोत्सवका लागि जनकपुरधामस्थित जानकी मन्दिरसँगै मटिहानीको लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको झुलाघरलगायत विभिन्न मठमन्दिरमा विशेष तयारी गरिएको थियो। आसपासका मठमन्दिरबाट राम सीता तथा राधा–कृष्णका प्रतिमा ल्याएर सामूहिक रूपमा झुलाउने परम्परा छ।

मटिहानीमा रहेको विशेष झुलाघरमा लक्ष्मीनारायण मठ तथा मन्दिरबाट विष्णु–लक्ष्मीका प्रतिमा डोलीमा राखेर ल्याई झुलाउने गरिन्छ। महन्थ वैष्णवका अनुसार यस वर्ष नेपाल र भारतका विभिन्न स्थानमा रहेका दर्जनौँ मठमन्दिरका देवदेवीका प्रतिमा झुलाउन मटिहानी ल्याइएको थियो। पर्व अवधिभर साधुसन्त तथा श्रद्धालुको उल्लेख्य सहभागिता रह्यो।

झुलनोत्सव धार्मिक अनुष्ठानमा मात्र सीमित नभई मिथिलाको लोकसंस्कृति र संगीतसँग समेत गहिरो रूपमा जोडिएको छ। मल्हार र कजरीका परम्परागत लयमा गीत गाउँदै, नाच्दै देवदेवीलाई झुलाउने चलनले पर्वलाई थप उल्लासमय बनाउने गर्छ।

जनकपुरस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार मिथिलामा झुला उत्सवको परम्परा विक्रम संवत् १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गरेको विश्वास गरिन्छ। पछि यो परम्परा मिथिलाका विभिन्न मठमन्दिरमा विस्तार भएको मानिन्छ।

साउन शुक्लपक्ष धान रोपाइँ सकिएपछिको समय भएकाले पनि मिथिलामा यस पर्वको विशेष सांस्कृतिक महत्व रहेको जानकारहरू बताउँछन्। रोपाइँपछि खेतमा हरियाली छाउने र किसानहरू केही फुर्सदिलो हुने समयमा झुलनोत्सवमार्फत धार्मिक आस्था, मनोरञ्जन र सामुदायिक सहभागितालाई जोड्ने गरिएको हो। किसानहरूले धान राम्रोसँग सप्रियोस् र समयमै पानी परिरहोस् भन्ने कामनासमेत गर्ने गर्छन्।

मिथिलामा झुला पर्व रामको जन्मभूमि अयोध्या र कृष्णको बाललीलासँग जोडिएको वृन्दावनको परम्पराबाट प्रभावित भएर भित्रिएको विश्वास छ। जनकपुरधाम सीताको माइतीभूमि भएकाले श्रीराम र सीतालाई ज्वाइँ छोरीका रूपमा सम्मान गर्दै साउन शुक्लपक्षका १३ दिन झुलाउने परम्परा विकसित भएको धार्मिक मान्यता छ।

झुला पर्वको सुरुआतसँग जनकपुरको मणिपर्वतको परम्परा पनि जोडिएको छ। जनविश्वासअनुसार राम सीताको विवाहका क्रममा राजा जनकले दिएको हिरा, रत्न तथा मणिमाणिक्य थुप्रिएर बनेको स्थानलाई मणिपर्वत भनिएको हो। जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा रहेको मणिपर्वतमा साउन शुक्ल तृतीयाका दिन पूजा गरेपछि झुला पर्व सुरु गर्ने मिथिला परम्परा रहँदै आएको छ।

यसरी धार्मिक आस्था, लोकगीत, नृत्य र सामुदायिक सहभागिताको संगम बनेको मिथिलाको झुलनोत्सव १३ दिनसम्मको उल्लासपछि पूर्णिमाको मध्यरातमा झुलाको डोरी छिनाएसँगै सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार