सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

२०८३ भाद्र १३, शनिबार ०८:२५
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्लाको बलरा नगरपालिका – ७ डुमरियास्थित मधुबनी सडकखण्डमा शुक्रबार राति करिब ९ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ३० एएल ३१८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब साढे पाँच फिट तल रहेको पुलको साइफनमा खसेर ठोक्किएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक बलरा नगरपालिका – ६ निवासी दुखरन बैठाका १७ वर्षीय छोरा अभिनाष बैठा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारकै क्रममा राति करिब १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, मोटरसाइकलको बीचमा सवार सोही स्थानका प्रमोदकुमार बैठाका १८ वर्षीय छोरा रोहित बैठा पनि गम्भीर घाइते भएका थिए। उनको दुवै खुट्टा तथा शरीरको भित्री भागमा चोट लागेको थियो।

प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएकोमा शनिबार बिहान करिब २ः३१ बजे बाटोमै मृत्यु भएको आशंकापछि पुनः प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो। अस्पतालमा गरिएको ईसीजी परीक्षणपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि सवार भारतको बिहार राज्य, सीतामढी जिल्ला बथनाहा थाना रनौली – १० घर भई हाल बलरा नगरपालिका – ६ बस्दै आएका २४ वर्षीय शनि कुमार बैठाको दाहिने खुट्टा भाँचिएको छ। उनको अवस्था गम्भीर रहेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गडहियाबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार