भोटेकोशी बाढी: मधेसका हराइरहेकामध्ये २२ जना सम्पर्कमा, १४९ जना अझै सम्पर्कविहीन

२०८३ भाद्र १३, शनिबार १५:४३

सर्लाही – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका मधेस प्रदेशका १७१ जनामध्ये २२ जना परिवारको सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार उनीहरू टेलिफोन सम्पर्कमार्फत परिवारसँग जोडिएका हुन्।

बाढीपछि मधेसका विभिन्न जिल्लाबाट ठूलो संख्यामा नागरिक सम्पर्कविहीन भएको विवरण प्राप्त भएपछि प्रहरीले खोजी तथा विवरण संकलनलाई तीव्र बनाएको छ। हालसम्म प्राप्त विवरणअनुसार सप्तरीका ४५, पर्साका ३९, रौतहटका १७, बाराका २३, सर्लाहीका १५, महोत्तरीका १७, धनुषाका ५ र सिरहाका १० जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज बिहानसम्म पर्साको पोखरिया नगरपालिका–५ का ओजिर अन्सारी, वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम, जितपुर सिमरा उपमहानगरपालिका–१२ का रोजितकुमार साह र स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता परिवारको सम्पर्कमा आएका छन्।

त्यसैगरी रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी तथा ईशनाथ नगरपालिका–४ का सेख मजिद पनि सम्पर्कमा आएका छन्। चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवालसमेत सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ का बृजकिशोर दास, सुनिता दास र श्यामलाल मोक्तान तथा बागमती नगरपालिका–६ का दिपेश थापा पनि परिवारसँग सम्पर्कमा आएका छन्।

यस्तै, महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव र इञ्जिनियर विपीनकुमार मण्डल तथा धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार सम्पर्कमा आएका छन्। सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकीले पनि टेलिफोनमार्फत परिवारसँग सम्पर्क गरेका छन्।

बाढी र पहिरोपछि परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेको भन्दै विभिन्न जिल्लाबाट लगातार खोजीका लागि निवेदन तथा सूचना आउन थालेपछि प्रहरीले सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन गरिरहेको छ।

मधेसका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका नागरिकसमेत विपद्मा परेपछि उनीहरूका परिवारमा चिन्ता बढेको छ। प्रहरीले सम्पर्कविहीन व्यक्तिबारे कुनै सूचना वा जानकारी प्राप्त भए तत्काल सम्बन्धित जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई जानकारी गराउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार