सर्लाहीमा लुकाइछिपाई ल्याइएको लाखौँको मदिरा बरामद, ४ जना भारतीय नागरिक पक्राउ

२०८३ भाद्र १४, आईतवार ११:१८

मलंगवा – सर्लाही प्रहरीले लुकाइछिपाई ल्याइएको ठूलो परिमाणको मदिरा बरामद गर्दै चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कार चालक भारतको सीतामढी जिल्लास्थित हरनैया पञ्चायत वडा नं. ३ का अन्दाजी ३३ वर्षीय दीपक कुमार तथा सोही गाडीमा सवार बैतिया, जिल्ला हतिया पञ्चायत वडा नं. ८ का ३६ वर्षीय अल्बु यादव, सोहि जिल्ला लैरिया पञ्चायत वडा नं. ६ का ३० वर्षीय कृष्ण भगत र वडा नं. ४ का २० वर्षीय आलोक कुमार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती नगरपालिका – १२ कर्मैया चेकपोस्टमा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त मदिरा बरामद गरेको हो।

प्रहरीले चेकजाँचका क्रममा कारको पछाडिको सिटमुनि तथा अगाडिको भागमा फल्स बटन बनाएर लुकाइछिपाई राखिएको अवस्थामा बिल बिजक नभएको अन्दाजी १३ लाख ५५ हजार रुपैयाँ बराबरको मदिरा फेला पारेको जनाएको छ।

बरामद मदिरामा रेड लेबल, रोयल स्ट्याग र म्याकडोवेल्स ब्रान्डका विभिन्न बोतलहरू रहेका छन्। पक्राउ परेका उनीहरूलाई बरामद मदिरा तथा सवारीसाधनसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार