गोडैताका बालबालिका र युवाको पहलमा बाढीपीडितका लागि १३ हजार ७५० रुपैयाँ सहयोग

२०८३ भाद्र १४, आईतवार २०:३३

मलंगवा – सर्लाहीको गोडैता नगरपालिकाका बाल क्लब तथा युवा क्लबका सदस्यहरुले यहि भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन्।

गोडैता नगर बालक्लव संजाल र गोडैता युवा क्लव संजालका सदस्यहरूले गोडैता नगरपालिकाको आफ्नै बजार क्षेत्रमा रहेका विभिन्न पसल तथा व्यवसायमा पुगेर घुम्ती रूपमा नगद रकम तथा खाद्यान्न संकलन गरेका थिए।

युवा र बाल क्लवका सदस्यहरुले आईतबार संकलन गरिएको करिव १३ हजार ७ सय ५० रुपैयाँ बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिएका छन्।

बालबालिका तथा युवाहरूले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै स्वस्फूर्त रूपमा अभियानमा सहभागिता जनाएका हुन्। क्लबहरूको यो पहलले विपद्का बेला स्थानीय तहका युवापुस्ता र बालबालिकाले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्ने सकारात्मक सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार