सर्लाही – वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको सर्लाहीका एक दिने नवजात शिशु करिब १६ घण्टापछि प्रहरीले सकुशल फेला पारेको छ।
शिशु चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ इनर्वाकी सबिना खातुन रहेकी छन्। उनलाई प्रहरीले सोमबार बिहान नवजात शिशुसहित नियन्त्रणमा लिएको हो।

पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार शिशु चोरीको सूचना पाएलगत्तै प्रहरीले रातभरि खोजी तथा अनुसन्धान अभियान सञ्चालन गरेको थियो। सोही क्रममा वीरगन्ज–१६ इनर्वाबाट शिशुसहित खातुन पक्राउ परेकी हुन्।
सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन्। जन्मेको एक दिनमै अस्पतालबाट उनका नवजात शिशु चोरी भएको थियो।
अस्पतालमा रहेका शिशुकी हजुरआमासँग एक महिलाले बच्चा खेलाउने भन्दै शिशु मागेकी थिइन्। हजुरआमाले बच्चा दिएपछि ती महिला शिशुसहित अस्पतालबाट बाहिरिएर बेपत्ता भएकी थिइन्।
घटनापछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो। प्रहरीले खोजी तथा अनुसन्धानलाई तीव्र बनाएपछि करिब १६ घण्टापछि शिशुलाई सकुशल उद्धार गर्न सफल भएको हो।
हाल पक्राउ परेकी खातुन र नवजात शिशुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ। घटनाको कारण तथा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





