मलंगवा – सर्लाही प्रहरीले ठूलो परिमाणमा अवैध मदिरासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बागमती नगरपालिका–१२ स्थित कर्मैया चेकपोस्टबाट प्रहरीले करिब १४ लाख ४४ हजार रुपैयाँ मूल्य बराबरको मदिरा बरामद गरेको हो।
नवलपरासीबाट मलंगवातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारमा लुकाएर मदिरा ल्याइएको अवस्थामा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा कार रोकेर खानतलासी गर्दा पछाडिको सिटमुनि विशेष किसिमको फल्स बटम बनाइएको फेला परेको थियो। सोही स्थानमा बिल–विजकबिनाको अवैध मदिरा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो।
प्रहरीका अनुसार कारबाट ८० बोतल भोड्का, ८७ बोतल ठूलो रोयल स्ट्याग र १३० बोतल सानो रोयल स्ट्याग बरामद भएको छ। बरामद मदिराको कुल बजार मूल्य १४ लाख ४४ हजार १०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको गौतम बुद्ध नगरका ४० वर्षीय कार चालक अनिल शर्मा, नजफगढ साउथ वेस्टका २८ वर्षीय मोहम्मद सारुख अन्सारी र सीतामढीका २१ वर्षीय प्रबेन्द्र कुमार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका तीनै जना, कार र बरामद मदिरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।





