सर्लाही – बारामा ११ वर्षीय बालकको अपहरणपछि भारतमा लगेर हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय एक बालकलाई पक्राउ गरेको छ।
जिल्लाको बिश्रामपुर गाउँपालिका–३, मुसहर्वाका ११ वर्षीय राजेशकुमार साहको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १७ वर्षीय बालकलाई नियन्त्रणमा लिएको हो। नाबालक भएकाले प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन।

प्रहरीका अनुसार राजेशलाई घरबाट लगेर भारत पुर्याइएको र त्यहीँ हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भदौ ९ गते घरबाट हराएका राजेशको शव दुई दिनपछि अर्थात् भदौ ११ गते भारतको बिहारस्थित मोतिहारी जिल्लाको नुनयाडी पञ्चायत – १ मा पर्ने सिंहा नदीको किनारमा फेला परेको थियो।
शव फेला परेपछि मृतककी आमाले भारत पुगेर राजेशको पहिचान गरेकी थिइन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार घटनाको अनुसन्धानका क्रममा प्राप्त सिसिटिभी फुटेज र स्थानीयवासीबाट संकलित सूचनाले १७ वर्षीय बालकको घटनामा संलग्नता देखाएको थियो।
सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका बालकलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए।





