सर्लाहीमा ८ लाख ७८ हजारको अवैध कपडा बरामद, कार छाडेर चालक फरार

२०८३ भाद्र १६, मंगलवार २१:३१

मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिका–५ स्थित फूलजोर चोकबाट प्रहरीले ठूलो परिमाणमा अवैध तयारी कपडा बरामद गरेको छ।

प्रहरीले कपडा ओसारपसारमा प्रयोग भएको एउटा कारसमेत नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार दिउँसो फूलजोर बयलवास सडकखण्डमा चेकजाँचका क्रममा उक्त कपडा बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय फूलजोर र ट्राफिक प्रहरीको संयुक्त टोलीले सडकमा सवारीसाधन जाँच गरिरहेको थियो। सोही क्रममा प्रहरीलाई देखेपछि बा ७ च १६३२ नम्बरको कारका चालकले गाडी सडकमा नै छाडेर फरार भएका थिए।

शंका लागेपछि प्रहरीले कारको खानतलासी गर्दा भित्र लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा तयारी कुर्ता–सुरुवाल फेला पारेको हो। बरामद कपडाको अनुमानित मूल्य ८ लाख ७८ हजार ८ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार बरामद कपडा र नियन्त्रणमा लिइएको कारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सर्लाही भन्सार कार्यालय पठाइएको छ।

घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार