सर्लाही – मधेस प्रदेश सरकारले रसुवा र नुवाकोट क्षेत्रमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि करिब १ करोड ९६ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा परी ज्यान गुमाएका मधेस प्रदेशका नागरिकका परिवारलाई प्रतिमृतक १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।

अर्थमन्त्री युवराज भट्टराईका अनुसार बाढीमा परी मधेस प्रदेशका हालसम्म ४ जनाको मृत्यु भएको छ भने १ सय ६० जना सम्पर्कविहीन छन्। बाढीमा घाइते भएका प्रदेशका नागरिकलाई प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णयसमेत गरिएको छ।
बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यकताअनुसार ७ हजार थान कम्बल र ७ सय सेट टेन्ट उपलब्ध गराउने निर्णय गरेको छ। यी राहत सामग्रीको कुल मूल्य १ करोड ९६ लाख रुपैयाँ बराबर रहेको जनाइएको छ।
राहत सामग्री गृहमन्त्री फकिरा महतोमार्फत नुवाकोट र रसुवाका जिल्ला प्रशासन कार्यालय, बागमती प्रदेश सरकार तथा प्रभावित स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरिनेछ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा संशोधनका लागि तयार गरिएको मस्यौदामा राय तथा परामर्श लिन प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ।
त्यस्तै, स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा प्रक्रियालाई व्यवस्थित, पारदर्शी, अनुमानयोग्य र न्यायोचित बनाउने उद्देश्यले तयार गरिएको ‘स्थानीय तहका कर्मचारीहरूको सरुवा मापदण्ड, २०८३’ समेत बैठकले स्वीकृत गरेको छ।





