भोटेकोशी बाढी : मधेसका ३० जना सम्पर्कमा, १६२ अझै बेपत्ता

२०८३ भाद्र १८, बिहीबार ०८:४९

सर्लाही – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका मधेस प्रदेशका १९२ जनामध्ये ३० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् । १६२ जना भने अझै सम्पर्कविहीन रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि हराइरहेका नागरिकको खोजीका क्रममा ३० जनासँग टेलिफोनमार्फत सम्पर्क स्थापित भएको हो ।

सम्पर्कमा आएकामध्ये पर्साको वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम तथा स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता रहेका छन् ।

त्यसैगरी रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी, ईशनाथ नगरपालिका–४ का सेख मजिद तथा चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएका छन् ।

सर्लाहीबाट लालबन्दी नगरपालिका–१ का वृजकिशोर दास र सुनिता दास तथा बागमती नगरपालिका–६ का दिपेश थापा सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

महोत्तरीका जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, विपीनकुमार मण्डल र श्रीकेश यादव, लोहारपट्टीका युवराज पाण्डे, औरही गाउँपालिका–९ का सचिनकुमार यादव, गौशाला नगरपालिका–६ का आदित्यनारायण यादव र बर्दिबासका विकास भारती पनि सम्पर्कमा आएका छन् ।

यस्तै, धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार तथा जनकपुरधाम उपमहानगरपालिका–४ का रीतिक झा र विक्रम ठाकुर सम्पर्कमा आएका छन् ।

जनकपुरधाम–११ का सुशान्त यादव, सिरहाको गोलबजार–१० का टार्जन बलम्पाकी, लहान–४ का उमेश यादव र सप्तरीको कञ्चनरुप–८ का अजय मरिक पनि टेलिफोन सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अझै सम्पर्कविहीन रहेकामा सप्तरीका ४८, पर्साका ३८, बाराका २३, सर्लाहीका १८, रौतहटका १३, सिरहाका १२, महोत्तरीका १० र धनुषाका ७ जना रहेका छन् ।

भोटेकोशीमा आएको बाढी र त्यसपछि गएको पहिरोका कारण मधेस प्रदेशका विभिन्न जिल्लाका नागरिक परिवार तथा आफन्तको सम्पर्कबाट बाहिरिएपछि प्रहरीले उनीहरूको विवरण संकलन थालेको हो ।

प्रवक्ता ढकालका अनुसार सम्पर्कविहीन नागरिकका परिवार तथा आफन्तबाट प्राप्त सूचनाका आधारमा विवरण संकलन गरी खोजी तथा पहिचानको काम अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार