सर्लाही – मधेश प्रदेश सरकारले स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीको अन्तर-स्थानीय तह सरुवा प्रक्रिया अघि बढाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामले सूचना जारी गर्दै सरुवा हुन इच्छुक र योग्यता पुगेका कर्मचारीलाई भदौ २१ गतेभित्र निवेदन पेश गर्न आग्रह गरेको हो।
कार्यालयका अनुसार सरुवाका लागि निवेदन दिने कर्मचारीले तोकिएको ढाँचामा आफ्नो विवरणसहितको निवेदन पेश गर्नुपर्नेछ। साथै, सरुवा हुन चाहेको स्थानीय तहबाट अनुसूची–२ बमोजिमको सहमति पत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। उक्त सहमति पत्रमा सम्बन्धित स्थानीय तहमा रहेको रिक्त पद, दरबन्दी र तह स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्नेछ।

त्यसैगरी, प्रदेश निजामती किताबखानाको व्यक्तिगत सूचना प्रणाली (PIS) मा कर्मचारीको हाल कार्यरत कार्यालय, पद, श्रेणी वा तह तथा समायोजनसम्बन्धी विवरण अद्यावधिक भएको हुनुपर्ने कार्यालयले जनाएको छ।
सरुवा प्रक्रियामा केही कर्मचारीलाई प्राथमिकता समेत दिइने भएको छ। अपाङ्गता भएका, दीर्घरोगी, पति–पत्नी दुवै सरकारी सेवामा कार्यरत रहेका, गर्भवती तथा दुई वर्षमुनिका बालबालिका भएका कर्मचारीले सम्बन्धित अवस्थाको आधिकारिक प्रमाण पेश गरेमा उनीहरूको निवेदनलाई प्राथमिकतामा राखिने सूचनामा उल्लेख छ।
तर प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई पहिलो पटक पदस्थापन भएका तथा सम्बन्धित ऐनले तोकेको न्यूनतम सेवा अवधि पूरा नगरेका कर्मचारीको सरुवा भने नहुने स्पष्ट पारिएको छ।
मन्त्रालयले तोकिएको समयसीमापछि प्राप्त हुने, आवश्यक प्रक्रिया पूरा नगरेका वा तोकिएका कागजात संलग्न नभएका निवेदनमाथि कुनै कारबाही नगरिने जनाएको छ।
सरुवा सम्बन्धी स्वीकृत मापदण्ड तथा आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट www.ocmmc.madhesh.gov.np बाट हेर्न तथा डाउनलोड गर्न सकिने सूचनामा जनाइएको छ।





