सर्लाही – धनुषामा प्रहरीले झाडीभित्र लुकाएर राखिएको १०७ किलोभन्दा बढी अवैध लागूऔषध गाँजा बरामद गरेको छ। जिल्लाको नगराइन नगरपालिका – ५ स्थित खिरखिरिया जाने भित्री सडकको छेउमा रहेको झाडीबाट प्रहरीले गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार बिहिबार राति करिब २ः३० बजे उक्त स्थानमा ठूलो परिमाणमा गाँजा लुकाएर राखिएको गोप्य सूचना प्राप्त भएको थियो। सूचनापछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले झाडीमा खोजतलास गर्ने क्रममा प्लास्टिकमा बेरिएका ९ वटा पोका फेला पारेको थियो। बरामद गाँजा इलाका प्रहरी कार्यालय लग्माजटहीमा ल्याएर तौल गर्दा प्लास्टिकसहित १०९ किलो रहेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई प्लास्टिक हटाएर पुनः तौल गर्दा गाँजाको वास्तविक तौल १०७ किलो ९९८ ग्राम रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





