सिरहाको औरहीमा माछा उत्पादन कार्यक्रममा ८ लाख अनियमितता, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८३ भाद्र १८, बिहीबार १६:५९

सर्लाही – सिरहाको औरही गाउँपालिकामा सञ्चालित माछाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रममा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ अनियमितता भएको दाबी गर्दै तत्कालीन गाउँपालिका अधिकारीसहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा औरही गाउँपालिकाले वडा नम्बर ४ स्थित प्रगतिशील कृषक समूहसँग १५ लाख रुपैयाँमा माछा उत्पादनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको थियो। तर, सम्झौतामा उल्लेख भएअनुसार काम नगरी वास्तविकभन्दा बढी रकम भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ।

कार्यक्रमअन्तर्गत किसानलाई वितरण गर्नुपर्ने माछाका भुरा, दाना, चुना लगायतका सामग्री तोकिएको परिमाणमा वितरण नगरी काम सम्पन्न भएको देखाइएको आरोप छ। कम सामग्री वितरण गरे पनि पूरा सामग्री वितरण गरेको देखाउन झुट्टा बिल, भरपाई तथा अन्य कागजात तयार गरी पेश गरिएको र त्यसकै आधारमा बढी रकम भुक्तानी भएको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा सम्झौताको शर्तविपरीत ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बढी भुक्तानी लिने–दिने कार्य भएको पुष्टि भएको आयोगको दाबी छ।

यस प्रकरणमा औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख पशु अधिकृत रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती तथा प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवलाई प्रतिवादी बनाइएको छ।

आयोगले चारै जनासँग ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बिगो कायम गर्दै उक्त रकम असुल गर्नुका साथै जरिवाना र कैद सजायको मागदाबी गरेको छ।

पशु अधिकृत शर्मामाथि भने थप कसुरसमेत लगाइएको छ। उनले सरकारी कागजातमा विवरण सच्याई हेरफेर गरेको तथा आफू पदमा नरहेको समयमा समेत प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा कागजातमा हस्ताक्षर गरेको आरोप आयोगले लगाएको छ।

त्यस्तै, कृषक समूहका अध्यक्ष राम भजन यादवलाई समेत मूल कसुरमा संलग्न रहेको भन्दै मुख्य कसुरदारलाई हुनेसरह सजाय हुनुपर्ने मागदाबी आयोगले गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार