भोटेकोसी बाढी : मधेशका १७८ जना अझै बेपत्ता, तीन जनाको मृत्यु

२०८३ भाद्र २०, शनिबार १३:२५

सर्लाही – रसुवाको भोटेकोसी नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्लाका १७८ जना अझै सम्पर्कविहीन रहेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि प्रदेशका आठवटै जिल्लाबाट २२० जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो ।

तीमध्ये ३८ जना सम्पर्कमा आएका छन् भने दुई जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अभिलेखमा उल्लेख थियो । प्रहरीको तथ्यांक बाहेक प्राप्त थप विवरणलाई समेत समेट्दा सम्पर्कविहीनको संख्या १७८, सम्पर्कमा आउनेको संख्या ३९ र मृत्यु हुनेको संख्या तीन पुगेको देखिएको छ ।

सप्तरी र बाराका एक–एक जनाको शव यसअघि नै फेला परेको थियो भने महोत्तरीको गौशाला नगरपालिका–५ का कुशल खप्ताङ्गीमगरको पनि शव फेला परेको जानकारी प्राप्त भएको छ ।

यस्तै, सप्तरीका सञ्जय साहसमेत सम्पर्कमा आएका छन् । तर, यी दुवै घटनाको जानकारी प्रहरीलाई ढिलो प्राप्त भएका कारण तत्कालै आधिकारिक अभिलेखमा समावेश हुन नसकेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार प्राप्त सूचनाका आधारमा बाढी प्रभावित तथा सम्पर्कविहीन व्यक्तिहरूको विवरण निरन्तर अद्यावधिक भइरहेको छ । गौशालाका मगरको शव फेला परेको विषयमा औपचारिक जानकारी नआएकाले प्रहरीको अभिलेखमा समावेश हुन नसकेको उनले बताए ।

शुक्रबार बिहान करिब साढे १० बजे सम्पर्कमा आएका सप्तरीका साहको विवरण पनि ढिलो प्राप्त भएकाले प्रहरीको तथ्यांकमा तत्काल समेटिन सकेको थिएन । जिल्लागत विवरणमा सप्तरी सबैभन्दा बढी प्रभावित देखिएको छ । सप्तरीबाट ५२ जना अझै सम्पर्कविहीन छन् भने तीन जना सम्पर्कमा आएका छन् । त्यहाँ एक जनाको मृत्यु भएको छ ।

त्यस्तै, पर्साबाट ४६ जना सम्पर्कविहीन रहेकामा तीन जना सम्पर्कमा आएका छन् । बारामा ३० जना सम्पर्कविहीन छन् भने चार जना सम्पर्कमा आएका छन् । बाराबाट एक जनाको मृत्यु भएको प्रहरी अभिलेखमा उल्लेख छ ।

रौतहटबाट २० जना सम्पर्कविहीन रहेकामा छ जना सम्पर्कमा आएका छन् । बाढीपछि मधेशका अन्य जिल्लाबाट पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको र खोजी तथा विवरण संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार