मलंगवा – सर्लाहीमा ई–रिक्साले पैदलयात्रीलाई ठक्कर दिँदा एक बृद्वाको मृत्यु भएको छ। जिल्लाको कबिलासी नगरपालिका – ८ स्थित कबिलासी बजारमा मलंगवा–नवलपुर सडकखण्डमा शनिबार साँझ दुर्घटना भएको हो।
प्रहरीका अनुसार नवलपुरबाट कबिलासीतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ह ०६९७ नम्बरको ई–रिक्साले सडकमा हिँडिरहेकी स्थानीय ६० वर्षीया स्वागबती ठाकुरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा उनको दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। गम्भीर घाइते ठाकुरको उपचारकै क्रममा शनिबार साँझ करिब ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ।
दुर्घटनापछि प्रहरीले ई–रिक्सा नियन्त्रणमा लिएको छ। ई–रिक्सा चालक लालबन्दी नगरपालिका–५ मेजरगञ्ज निवासी ५९ वर्षीय हरिप्रसाद धमलालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





