सर्लाही – प्रधानमन्त्री बालेन्द्र शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई लामो समयसम्म अस्थायी बसोबासमा राख्न नहुने भन्दै उनीहरूको सुरक्षित आवासको व्यवस्था छिट्टै गरिने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत विपद् व्यवस्थापनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले विपद्का कारण पीडा र क्षति व्यहोरेका नागरिकलाई सरकारले कुनै पनि अवस्थामा एक्लो नछाड्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले विपद्का कारण आफन्त, घर तथा सम्पत्ति गुमाएका नागरिकको पीडा र मानसिक आघातप्रति सरकार गम्भीर रहेको उल्लेख गरेका छन् । कठिन परिस्थितिबाट गुज्रिरहेका प्रभावित परिवारलाई राज्य र सरकार उनीहरूको साथमा रहेको विश्वास दिलाउँदै उनले सुरक्षित र स्थायी बसोबासको प्रबन्धलाई प्राथमिकतामा राखिएको बताए ।
प्रधानमन्त्री शाहले प्रभावित नागरिकको अस्थायी बसाइलाई सकेसम्म छोटो बनाउने र उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै उनीहरूलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने बताएका छन् ।
यसैबीच, नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा बाढी आएको ११औँ दिनमा घरभित्रबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएको घटनाले विपद्मा खटिएका सुरक्षाकर्मीको प्रयासप्रति आशा जगाएको प्रधानमन्त्री शाहले बताएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले लामो समयदेखि बेपत्ता रहेकी श्रेष्ठलाई उद्धार गर्न सफल भएको घटनाले खोज तथा उद्धारको अभियान अझै निरन्तर र प्रभावकारी रूपमा अघि बढिरहेको सन्देश दिएको उनको भनाइ छ ।
बाढी तथा पहिरोजस्ता विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार र पुनःस्थापनामा सरकार निरन्तर सक्रिय रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले संकटको अवस्थामा नागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिलाउनु सरकारको प्रमुख जिम्मेवारी भएको बताएका छन् ।
उनले विपद्बाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै उनीहरूलाई सुरक्षित बसोबासमा स्थानान्तरण गर्ने कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइने स्पष्ट पारेका छन् ।





