बिरगंजको एक क्यासिनोमा प्रहरीको छापा: गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित आठ जना पक्राउ

२०८३ भाद्र २१, आईतवार १०:५२

सर्लाही – वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइएको आरोपमा प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र पोखरिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदिप पौडेलसहित आठ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने गरिएको सूचना पाएपछि शनिबार राति विशेष अप्रेसन सञ्चालन गरेको थियो।

प्रहरीका अनुसार गएराति करिब १२ः३० बजे क्यासिनोभित्र नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचना प्राप्त भएको थियो। त्यसपछि प्रहरी टोली तत्काल क्यासिनोमा पुगेको थियो। प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा चार जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–६ का अध्यक्ष जसवन्त यादव, पोखरिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदिप पौडेल, चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ओमप्रकाश बैठा रहेका छन्।

प्रहरीका अनुसार गाउँपालिका अध्यक्ष यादव सरकारी सवारीसाधन प्रयोग गरेर क्यासिनो पुगेका थिए। उनको साथबाट नभई क्यासिनो परिसरबाटै सखुवाप्रसौनी गाउँपालिकाको नाममा रहेको सरकारी सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका चार जना कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज महानगरपालिका–१४ का विजय कुमार पटेल, वीरगञ्ज महानगरपालिका–२५ का दिनेश कुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का जयदेव साह र वीरगञ्ज महानगरपालिका–१२ का प्रदेशी साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जारी गरेको प्रेस विज्ञप्तिअनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा उनीहरूलाई जुवा खेलाउने कार्य नियन्त्रण गर्ने उद्देश्यले प्रहरी कारबाही गरिएको हो।

प्रहरीले पक्राउ परेका आठै जनामाथि अनुसन्धान अघि बढाएको जनाएको छ। क्यासिनोमा नेपाली नागरिकलाई कसरी प्रवेश गराइएको थियो, जुवा खेलाउने कार्यमा कसको कस्तो भूमिका थियो तथा घटनामा अन्य व्यक्ति संलग्न छन् वा छैनन् भन्ने विषयमा समेत अनुसन्धान भइरहेको डीएसपी मल्लले बताएका छन्।

यस घटनाले सरकारी जिम्मेवारीमा रहेका व्यक्तिहरू नै क्यासिनोमा पुगेको विषयलाई समेत चर्चामा ल्याएको छ। प्रहरीले अनुसन्धान पूरा भएपछि घटनाको वास्तविकता र संलग्न व्यक्तिहरूको भूमिकाबारे थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार