धनुषामा खैरो हेरोइनसहित दुई जना पक्राउ

२०८३ भाद्र २२, सोमबार १८:५५

सर्लाही – धनुषामा प्रहरीले १९७ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरीले सोमबार मिथिला नगरपालिका–२ नक्टाझिझस्थित जनकपुरधाम–ढल्केवर सडकखण्डमा शंकास्पद मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो।

लागुऔषध नियन्त्रण ब्युरो बर्दिवास र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जनकपुरधामबाट ढल्केवरतर्फ जाँदै गरेको ज ९ प ५६९७ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक २७ वर्षीय संजित कुमार रामले बोकेको प्लास्टिकको झोलाबाट १९७ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद पदार्थसहित प्रहरीले मोटरसाइकल चालक धनुषाको सबैला नगरपालिका–१० खरियानी टोलका करिब ३४ वर्षीय राकेश चमार र भारतीय नागरिक रामलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार