किन पक्राउ परे मधेस प्रदेशका पूर्वसांसद यादव ?

२०८३ भाद्र २३, मंगलवार १९:४३
file image

सर्लाही – प्रहरीलाई धम्क्याएको आरोपमा मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य अशोक यादव पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई मंगलबार ललितपुरको हरिसिद्धिबाट पक्राउ गरेको हो। यादव २०७४ सालमा मधेसी जनअधिकार फोरमका तर्फबाट मधेस प्रदेशसभा सदस्य बनेका थिए। हाल उनी नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध रहेको बताइएको छ।

प्रहरीका अनुसार जेठ २५ गते राति करिब ९ बजेको समयमा यादवको स्वामित्वमा रहेको ज.१ त.२५५० नम्बरको ट्याक्टरले सडकमा रोकिराखिएको ना.६ख.७६२३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। उक्त ट्रक सर्लाहीको कविलासी नगरपालिका–८, अगर्वामा रोकिएको अवस्थामा थियो। ट्रकलाई ठक्कर दिएपछि ट्याक्टर घटनास्थलबाट भाग्न खोजेको थियो।

प्रहरीले ट्याक्टरलाई रोकेर दुवै सवारी चालकलाई आपसी छलफलमार्फत समस्या समाधान गर्न आग्रह गरेको थियो। सहमति हुन नसके प्रहरी कार्यालयमा आएर कानुनी प्रक्रियामा जान प्रहरीले उनीहरूलाई भनेको थियो।

त्यसपछि ट्याक्टर चालकले घटनाबारे यादवलाई जानकारी गराउँदै घटनास्थलमा बोलाएका थिए। यादव घटनास्थलमा पुगेपछि उनीसँगै आएका केही व्यक्तिहरूले प्रहरीलाई घेरा हाली आक्रमण गरेको आरोप छ।

घटनापछि प्रहरीले यादवसहित संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा यादवलाई मंगलबार हरिसिद्धिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार