मलंगवा – जेन–जी आन्दोलनका क्रममा जलेश्वर कारागार महोत्तरीबाट फरार भएका डाँका मुद्दाका एक कैदीलाई प्रहरीले करिब एक वर्षपछि सर्लाहीबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा लालबन्दी नगरपालिका – २ बजारमा खाजा खाइरहेको अवस्थामा फरार कैदीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका – २ का ४४ वर्षीय गोविन्द पासवान रहेका छन्। उनी डाँका मुद्दामा जलेश्वर कारागार महोत्तरीमा कैद भुक्तान गरिरहेका बेला जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।
प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो। गोप्य सूचनाका आधारमा खोजतलास गर्ने क्रममा उनलाई लालबन्दी – २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ परेका पासवानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी महोत्तरी कारागार पठाइएको प्रहरीले जनाएको छ।





