मौरिसस पठाइदिने भन्दै ठगी गरिएको साँढे ४ लाख रकम सर्लाही प्रशासनको पहलमा पीडितलाई फिर्ता

२०८३ भाद्र २४, बुधबार २०:१६

मलंगवा – वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने प्रलोभन देखाएर ठगी गरिएको चार लाख ५० हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा पीडितहरूले फिर्ता पाएका छन्।

ईश्वरपुर नगरपालिका – १ निवासी राजेन्द्र महतोका छोरा राकेश महतो भन्ने नथुनी महतोले मौरिससमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको आरोप लागेको थियो। रकम लिएपछि लामो समयसम्म विदेश नपठाएको र लिएको रकमसमेत फिर्ता नगरेपछि पीडितहरूले प्रशासनमा उजुरी दिएका थिए।

ठगीमा पर्नेहरूमा मलंगवा नगरपालिका – ३ निवासी रञ्जित कुशवाहा र सुरजकुमार महतो रहेका छन्। उनीहरूबाट वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने भन्दै रकम लिइएको भए पनि लामो समयसम्म विदेश पठाउने प्रक्रिया अघि नबढेपछि र रकम फिर्ता नभएपछि पीडितहरू न्यायका लागि जिल्ला प्रशासन कार्यालय सर्लाही पुगेका थिए।

पीडितहरूले दिएको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले घटनामा पहल गर्दै सम्बन्धित पक्षबीच समन्वय गरेको थियो। प्रशासनको रोहवरमा आरोपी राकेश महतो भन्ने नथुनी महतोका बुबा राजेन्द्र महतोले पीडितहरूबाट लिइएको चार लाख ५० हजार रुपैयाँ फिर्ता गरेका हुन्।

रकम फिर्ता भएपछि वैदेशिक रोजगारीका नाममा ठगीमा परेका पीडितलाई राहत मिलेको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा यसअघि पनि राकेश महतोले ठगी गरेको १२ लाख रुपैयाँ उनका बुबा राजेन्द्र महतोमार्फत पीडितलाई फिर्ता गरिएको थियो।

यो पनि पढ्नुहोस:
सर्लाहीमा वैदेशिक रोजगारीका नाममा ठगिएको १२ लाख रुपैयाँ प्रशासनको पहलमा फिर्ता

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार