सर्लाही – धनुषाको लक्ष्मिनिया गाउँपालिका – ४ स्थित स्वास्थ्य निर्देशनालय अगाडि जनकपुर – ढल्केबर सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा.प्र. ०२–०६६ प ५९४२ नम्बरको बुलेट मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ज ८ प ३५०९ नम्बरको ग्लामर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा बुलेट मोटरसाइकलका चालक अन्दाजी २५ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनको तत्काल नामथर तथा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। तर, उनको खल्तीमा रहेको सवारी चालक अनुमतिपत्रको नगदी रसिदका आधारमा उनी सुमन यादव रहेको खुलेको हो।
घाइते यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बुलेट मोटरसाइकलको पछाडि सवार सिरहाको नरहा गाउँपालिका–५ का अन्दाजी २५ वर्षीय सुभाष यादव पनि घाइते भएका छन्।
त्यस्तै, अर्को मोटरसाइकलका चालक धनुषाको लक्ष्मिनिया गाउँपालिका–६ का अन्दाजी ३१ वर्षीय मनोज कुमार यादव घाइते भएका छन्। घाइते दुवै जनाको धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





