सर्लाही – तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रतिवादी बनाइएका जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश चौधरीसहित १० जनालाई बारा जिल्ला अदालतले रिहा गरेको छ।
न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ भने अन्य नौ जनालाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो। अदालतको आदेशपछि उनीहरू बिहीबार साँझ रिहा भएका छन्।

साधारण तारेखमा रिहा हुनेमा प्रोग्रेशका बुबा इन्द्रजीत चौधरी, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता तथा सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन रहेका छन्। घटनामा उनीहरूको संलग्नता पुष्टि गर्ने पर्याप्त प्रमाण तत्काल उपलब्ध नभएको आधारमा अदालतले रिहाइको आदेश दिएको जनाएको छ।
मृतक बालिकाका बुबा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरी मुद्दा दर्ता गरेको थियो। तर अदालतमा भएको प्रारम्भिक सुनुवाइका क्रममा उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि हुने ठोस प्रमाण नदेखिएको भन्दै अदालतले प्रोग्रेशलाई धरौटी र अन्यलाई साधारण तारेखमा रिहा गरेको हो।
यसै घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई भने अदालतले बाल सुधारगृहमा पठाउने आदेश गरेको छ। न्यायाधीश अधिकारीको इजलासले बुधबार दुवै नाबालकलाई मुद्दाको पुर्पक्षका क्रममा बाल सुधारगृहमा राख्न आदेश दिएको हो। आदेशपछि उनीहरूलाई वीरगन्जस्थित बाल सुधारगृह पठाइएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्।
बाल सुधारगृह पठाइएका दुईमध्ये एक नाबालकले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको भनाइ छ। बालिकाको शव भेटिएकै दिन पक्राउ परेका ती नाबालकले बालिकालाई चकलेट खुवाएर बलात्कारपछि हत्या गरेको बयान दिएको बताइएको छ। उनको बयान घटनास्थलको अवस्था तथा शव भेटिएको परिस्थितिसँग मेल खाएपछि प्रहरीले उनी घटनामा संलग्न रहेको निष्कर्ष निकालेको थियो।
अनुसन्धानका क्रममा ती नाबालकले घटनामा अर्का एक साथीको समेत संलग्नता रहेको बताएका थिए। चिकित्सकसँग कुराकानी गरिरहेको अवस्थामा उक्त बयानको भिडियो खिचिएर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। प्रादेशिक अस्पताल कलैयास्थित ओसीएमसी कक्षमा चिकित्सकसँग नाबालकले गरेको कुराकानीको भिडियो प्रहरी हवल्दार कुमार विकले बाहिर ल्याएको आरोप छ।
भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराले हवल्दार विकलाई नियन्त्रणमा लिएर वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ तथा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान तथा कारबाही अघि बढाएको छ।
उक्त भिडियो सार्वजनिक हुनुअघि नै प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२ का अर्का नाबालकलाई पक्राउ गरिसकेको थियो। उनले भने घटनामा आफ्नो संलग्नता नरहेको बयान दिएका छन्। अदालतले दुवै नाबालकलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म बाल सुधारगृहमा राख्ने आदेश दिएको हो।
जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन्। खोजीका क्रममा भदौ २ गते घरबाट करिब एक सय मिटर दक्षिणतर्फ रहेको खाली घरमा उनको शव फेला परेको थियो। बालिकाको बलात्कारपछि हत्या भएको खुलेपछि परिवार, स्थानीयवासी तथा विभिन्न संघसंस्थाले घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलन गरेका थिए।
घटनापछि देशका विभिन्न स्थानमा समेत प्रदर्शन र विरोधका कार्यक्रम भएका थिए। भदौ ६ गते मृतक बालिकाका बुबा मनोज चौधरी र आमा मानमतीले गृह मन्त्रालयमा गृहमन्त्री, कानुनमन्त्री तथा प्रहरी महानिरीक्षकसहित सरकारी टोलीसँग छलफल गरेका थिए। उक्त वार्तामा तीनबुँदे सहमति भएपछि भदौ ७ गते बालिकाको कलैयास्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो।





