सर्लाही – प्रसूति व्यथा लागेकी महिलालाई भर्ना नगरेपछि अस्पताल परिसरबाहिर सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको घटना सार्वजनिक भएपछि सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पतालले ६ जना कर्मचारीलाई कामबाट हटाएको छ।
अस्पतालले शुक्रबार सूचना जारी गर्दै घटनामा संलग्न भएको आरोप लागेका कर्मचारीलाई छानबिन पूरा नभएसम्मका लागि कामकाजबाट अलग गरिएको जनाएको हो। अस्पतालका अनुसार डा. उषा देव, सुरक्षा गार्ड देवकान्त झा, स्टाफ नर्सद्वय मनिषा कुमारी साह र सजन चौधरी, कास रेणु ठाकुर तथा स्वीपर कृष्ण मेहतरलाई कामबाट हटाइएको छ।

अस्पतालले छानबिन समितिले आफ्नो प्रतिवेदन नदिएसम्म उनीहरूलाई जिम्मेवारीबाट अलग राख्ने निर्णय गरेको जनाएको छ। घटनाबारे छानबिन प्रक्रिया अघि बढिरहेका बेला अस्पताल प्रशासनले कर्मचारीमाथि प्रारम्भिक कारबाही गरेको हो।
गत मंगलबार राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले अस्पतालमा उपचार तथा भर्ना नपाएपछि अस्पतालबाहिर सडक पेटीमै बच्चा जन्माएकी थिइन्। हरेराम पासवानकी श्रीमती बबिताले सडक पेटीमै प्रसूति गरिरहेको दृश्य सार्वजनिक भएपछि अस्पतालको सेवा र कर्मचारीको कार्यशैलीप्रति व्यापक आलोचना भएको थियो।
घटनापछि सरकारले समेत छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको छ। समितिले घटनाको वास्तविक अवस्था, अस्पतालका कर्मचारीको भूमिका तथा प्रसूति सेवामा भएको भनिएको लापरबाहीबारे अध्ययन गर्नेछ।





