एजेन्सी – ओजेम्पिक, वेगोभी र जेपबाउन्ड जस्ता तौल घटाउने जीएलपी–१ वर्गका औषधि प्रयोग गर्नुअघि केही पुरुषमा कपाल झर्ने जोखिम पहिल्यै पहिचान गर्न सकिने सम्भावनातर्फ नयाँ अनुसन्धानले संकेत गरेको छ ।
अमेरिकाको न्यूयोर्क विश्वविद्यालय लाङ्गोन हेल्थको नेतृत्वमा गरिएको अध्ययनले जीएलपी–१ रिसेप्टरसँग सम्बन्धित जीन र पुरुषमा हुने वंशाणुगत कपाल झर्ने समस्या (एन्ड्रोजेनेटिक एलोपेसिया) बीच आनुवंशिक सम्बन्ध देखाएको छ । जर्नल अफ इन्भेस्टिगेटिभ डर्माटोलोजीमा प्रकाशित अध्ययनले यस्तो सम्बन्ध पहिलो पटक वैज्ञानिक रूपमा प्रस्तुत गरेको हो ।

अनुसन्धानमा जीएलपी–१ जीनको उच्च गतिविधिसँग सम्बन्धित आनुवंशिक विशेषता भएका पुरुषमा वंशाणुगत कपाल झर्ने अतिरिक्त जोखिम करिब ७ प्रतिशत बढी रहेको पाइएको छ । उच्च रक्तचाप, इन्सुलिन प्रतिरोध र टेस्टोस्टेरोनको स्तरजस्ता अन्य सम्भावित कारणलाई समायोजन गरेपछि पनि यो सम्बन्ध कायम रहेको अनुसन्धानकर्ताले बताएका छन् ।
अध्ययनकी वरिष्ठ अनुसन्धानकर्ता लिन पेटुखोभाका अनुसार, भविष्यमा थप अनुसन्धानले यो सम्बन्ध पुष्टि गरेमा चिकित्सकले जीएलपी–१ औषधि सिफारिस गर्नुअघि जोखिम भएका व्यक्तिलाई पहिचान गर्न सक्नेछन् । यसले कपाल झर्ने सम्भावना कम गर्ने संयुक्त उपचार विकासको बाटो पनि खोल्न सक्ने उनको भनाइ छ ।
हालसम्म जीएलपी–१ औषधि प्रयोगकर्तामा देखिने कपाल पातलो हुने समस्यालाई तीव्र तौल घट्दा हुने अस्थायी असरका रूपमा हेरिँदै आएको थियो । तर नयाँ अध्ययनले आनुवंशिक पक्षसमेत जोडिएको हुन सक्ने संकेत दिएको छ ।
यद्यपि अनुसन्धानकर्ताले यो अध्ययनले जीएलपी–१ औषधिले प्रत्यक्ष रूपमा कपाल झार्छ भन्ने निष्कर्ष ननिकालेको स्पष्ट पारेका छन् । जीएलपी–१ गतिविधिले कपालको जरामा कसरी प्रभाव पार्छ भन्ने विषय र यो सम्बन्ध महिलामा पनि लागू हुन्छ वा हुँदैन भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ ।
अमेरिकामा यी औषधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ । अध्ययनमा उद्धृत सर्वेक्षणअनुसार करिब १२ प्रतिशत अमेरिकीले तौल घटाउने उद्देश्यले मात्र जीएलपी–१ औषधि प्रयोग गरिसकेका छन् भने सन् २०२० मा ओजेम्पिक स्वीकृत भएपछि यसको प्रिस्क्रिप्सन तीन गुणाभन्दा बढी बढेको छ । – एएनआई, नेपाल न्यूज बैंक





