सर्लाही – रौतहटमा प्रहरीसँग आफ्नो पहुँच रहेको भन्दै थुनुवालाई छुटाइदिने आश्वासन दिएर एक लाख रुपैयाँ लिएको आरोपमा वडाध्यक्ष पदका एक प्रत्याशी पक्राउ परेका छन्।
गरुडा नगरपालिका–९ श्रीपुरका वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैनलाई ठगीको आरोपमा पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार केही दिनअघि श्रीपुरमा भएको झगडाका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेका थिए। त्यसपछि हुस्नैनले रामजनकी श्रीमतीलाई प्रहरीसँग आफ्नो कुरा हुने र मुद्दा मिलाएर उनका श्रीमानलाई छुटाइदिने आश्वासन दिएको आरोप छ।
सोही आश्वासनमा उनले रामजनकी श्रीमतीबाट एक लाख रुपैयाँ लिएको प्रहरीको भनाइ छ। तर रकम बुझाएपछि पनि रामजन रिहा नभएपछि उनकी श्रीमतीले आफू ठगीमा परेको भन्दै हुस्नैनविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन्।
जाहेरीका आधारमा प्रहरीले हुस्नैनलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यका अनुसार प्रहरीको नाम र पहुँचको दुरुपयोग गरी रकम असुलेको आरोप गम्भीर भएकाले पक्राउ गरी जिल्ला अदालत गौरबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
यसै घटनामा गरुडा नगरपालिका–९ का वर्तमान वडाध्यक्ष राजेश सहनीविरुद्ध पनि थुनुवा छुटाइदिने भन्दै रकम असुलेको आरोपमा जाहेरी परेको प्रहरीले जनाएको छ। सहनीमाथि लागेको आरोपबारे समेत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक आचार्यले बताए।
तर वडाध्यक्ष सहनीले भने रामजनलाई छुटाइदिने भन्दै आफूले कसैसँग रकम नलिएको दाबी गर्दै आफूमाथिको आरोप अस्वीकार गरेका छन्।
पक्राउ परेका हुस्नैन हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन्। घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





