सर्लाही – बाराको कलैया उपमहानगरपालिका – ४ स्थित अदालत रोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शनिबार राति कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको म.प्र.०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ०५ एभी ६१३६ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा भारतीय मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका–४, अदालत रोडका ३५ वर्षीय साहेब देवान गम्भीर घाइते भएका थिए। दुर्घटनापछि तत्काल उद्धार गरी उपचारका लागि परवानीपुरस्थित एल.एस. न्यूरो अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा अर्को मोटरसाइकलका चालक करैयामाई गाउँपालिका–७ का ३५ वर्षीय डिके चौधरी र पछाडि सवार १६ वर्षीय अन्जित चौधरी घाइते भएका छन्। दुवैको एल.एस. न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।





