सर्लाही – सिरहा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले गोलबजार नगरपालिका–१२ स्थित बेतौनाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारबाट परिचालित संयुक्त प्रहरी टोलीले ९७ ग्राम ५३ मिलिग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१२ बेतौनाका २५ वर्षीय मुनेश्वर मण्डल, २६ वर्षीय वीरेन्द्रकुमार साह, २० वर्षीय अरविन्दकुमार सिंह र गोलबजार नगरपालिका–६ का ३३ वर्षीय रितेश यादव रहेका छन्।
प्रहरीका अनुसार मण्डलले आफ्नै घरबाट लागुऔषध बिक्री–वितरण गरिरहेको सूचना प्राप्त भएपछि टोली उनको घरमा पुगेको थियो। त्यसक्रममा घरमा खानतलासी गर्दा मण्डलले लगाएको पाइन्टको दाहिने खल्तीमा प्लास्टिकको पोकामा लुकाएर राखिएको अवस्थामा ब्राउन सुगर फेला परेको थियो।
प्रहरीले बरामद पदार्थलाई प्लास्टिकसहित तौल गर्दा १०२ ग्राम ८८ मिलिग्राम र प्लास्टिक हटाएर शुद्ध तौल गर्दा ९७ ग्राम ५३ मिलिग्राम रहेको जनाएको छ। घटनास्थलबाट प्रहरीले २ हजार ५ सय ९५ रुपैयाँ नगद, पाँच थान मोबाइल फोन र एक थान डिजिटल तराजुसमेत बरामद गरेको छ।
पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।





